काठमाडौँ: पूर्वराज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूमाथि अपहरण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध यादवले सोमबार बबरमहलस्थित कार्यालयमा निवेदन दिएका हुन्।

 

समाजवादी र राजपा मिलेर बनेको जनता समाजवादीका नेता केशव झाले सरकारी वकिल कार्यालयले सांसद यादवले दिएको निवेदन दर्ता गरेको जानकारी दिए।

 

‘सांसद यादव र वकिलहरू आज सरकारी वकिल कार्यालय जानुभएको थियो। उहाँहरूले दिएको निवेदन दर्ता भएको छ,’ झाले पहिलोक्लिकसंग भने, ‘दर्ता नम्बर १०४७ हो।’

 

यसअघि सरकारी वकिल कार्यालयले आफूहरूलाई केही समय अध्ययन गर्न दिन भन्दै निवेदन दर्ता गरेको थिएन।

 

जनता समाजवादीका शीर्ष नेतासहित सांसद यादव अपहरणको किटानी जाहेरी दिन महानरीय प्रहरी परिसर काठमाडौं गए पनि प्रहरीले जाहेरी लिन मानेको थिएन।

 

नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवको निवेदनमा उल्लेख छ।

 

सांसद यादवले उक्त घटना छानबिन गर्न माग गर्दै केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version