काठमाडौँ ः काठमाडौँको नागार्जुन नगरपालिकामा हालसम्म १४ सय भन्दा बढीको ¥यापिड डाइग्नोस्टिक (आरडीटी) परीक्षण गर्दा जेठ ८ गतेसम्ममा २१ जनाको रिपोर्ट पोजेटिभ देखिएको नगरपालिकाको कार्यालयले शुक्रबार जनाएको छ।

 

नगरपालिकाले बैशाख दोश्रो सातादेखि पहिलो, दोश्रो र तेश्रो चरण गर्दै नगर जनप्रतिनिधि र नगरवासीको आरडीटी र पीसीआर परीक्षण गर्न शुरु गरेकोमा तेश्रो चरणसम्म आइपुग्दा जेठ ८ गतेसम्ममा कुल एक हजार ४०० (आरडीटी र पीसीआर दुवै ) परीक्षण गर्दा पीसीआर रिपोर्ट भने कसैको पनि पोजेटिभ नआएको, नगरप्रमुख मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो।

 

त्यसमध्ये २६२ जनाको पीसीआर परीक्षण गरिएको र त्यसको रिपोर्ट आज बेलुका अथवा भोली बिहानसम्ममा आइपुग्ने नगरपालिकाका मेयर बस्नेतले बताउनुभयो ।

नगरपालिकाले जोखिम बढ्दै गएको अवस्थामा यहाँका जनप्रतिनिधि लगायत नगरबासीहरुको आरडीटी र पीसीआर परीक्षणलाई निरन्तरता दिएको छ ।

 

लकडाउनको सुरुवाती दिनहरुमा पहिलो चरणमा विदेशबाट आएका ६४ जनाको सिधै पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ थियो भने दोश्रो चरणमा ७९ जनाको आरडीटी परीक्षण गर्दा पनि कसैको पनि रिपोर्ट पोजिटिभ आएन । यद्यपि जेठ ८ गते तेश्रो चरणमा ६१४ जनाको आरडीटी परीक्षण गरिएको मध्ये २१ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।

 

त्यस्तै शंकाको घेरामा रहेका २६२ जनाको पीसीआर परीक्षण गरिएको नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारीले बताउनुभयो । पीसीआर गरिएकाहरुमा यहाँका जनप्रतिनिधि, लकडाउन कार्यान्वयनमा खटिएका स्वयंसेवक तथा राहत वितरणमा संलग्न व्यक्तिहरु रहेका छन ।

 

आरडीटीमा पोजिटिभ देखिएका तथा पीसीआरमा सहभागी व्यक्तिहरुलाई यसको रिपोर्ट नआउन्जेलसम्मका लागि नगरपालिकामा घर भएकालाई आफ्नै निवासमा क्वारेन्टाइनमा बस्न लगाइएको तथा घर नहुनेलाई नगरपालिकाको कार्यालयमा क्वारेन्टाइनको व्यवस्था गरिएको समेत उहाँले बताउनु भयो ।

नगरपालिका अन्तर्गत वडा नं ९ र १० कोभिड १९ को धेरै जोखिमयुक्त क्षेत्रमा परेका छन र आरडीटि पोजिटिभ देखिएका अधिकांश नागरिक यसै वडा अन्तर्गत रहेको उहाँले जानकारी दिनुभयो ।

 

त्यस्तै वडा नम्बर १ रानीवन क्षेत्रमा हिजो एकैदिन कुल ८० जनाको आरडीटि गर्दा ३ जनाको पोजिटिभ आएकाले उनीहरुलाई पीसीआर परीक्षणमा पठाइएको, वडा नम्बर १ का वडाध्यक्ष रामचन्द्र लामाले बताउनुभयो । तीनै जनाको पीसीआर परीक्षणको रिपोर्ट शनिबारसम्ममा आउने उहाँले जानकारी दिनुभयो ।

 

उहाँले आरडीटी देखाउँदैमा डराउनु नपर्ने भन्दै पीसीआरको परीक्षणको रिपोर्ट पनि पोजिटिभ आएको खण्डमा मात्रै नगरपालिकाले जोखिमयुक्त क्षेत्र शिल गर्नेबारे निर्णय लिने उहाँले बताउनुभयो ।

भिमढुंगा नाका शिल

यस्तै नगरपालिकाको काठमाडौं–धादिङ जोड्ने बैकल्पिक सडक नाकामा पनि अहिले अस्थायी प्रहरी पोष्ट खडा गरी त्यहाँ आवतजावतमा कडाइ गरिएको मेयर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘थानकोटबाट सिधै राजधानी छिर्न नपाएकाहरु हिडेरै यो नाका भएर काठमाडौं छिर्ने भएकाले यहाँ कडाइ गरिएको हो । ’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version