काठमाडौं: सरकारले खानेपानी उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै खानेपानीको उपयोग गर्दा तिर्नुपर्ने बिजुलीको डिमाण्ड शुल्क मिनाहा दिने बताएका हुन् ।

डिमाण्ड शुल्क मिनाहाको माग गर्दै खानेपानी उपभोक्ता समितिहरु र यसका छाता संगठन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

खानेपानी मन्त्री बिना मगरको प्रयासमा उपभोक्ता समितिले तिर्दै आईरहेका डिमाण्ड शुल्क हटेको हो ।

सरकारले बजेटमै समेटेर खानेपानी प्रयोगको डिमान्ड चार्ज मिनाहा र विद्युत महसुलमा सहुलियत दिएकोमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले सरकारलाई आज एक बिज्ञप्ती जारी गर्दै धन्यवाद समेत दिएको छ ।

त्यस्तै आगामी वर्ष सरकारले आधारभूतस्तरको खानेपानी सुविधा ९४ प्रतिशत जनसंख्यामा पुर्याउने घोषणा गरेको छ । अहिले यो सुविधा ९० प्रतिशत जनसंख्यामा पुगेको छ ।

त्यसैगरी खानेपानीको आपूर्तिलाई दिगो बनाउने गरी महाकाली, कर्णाली, बबई र कोशी लगायतका नदीहरुमा आधारित थोक पानी वितरण प्रणाली तथा जलाशययुक्त खानेपानी आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।

आगामी वर्ष सुख्खाग्रस्त क्षेत्रमा निर्माणाधीन जलवायु अनुकूलित तथा बृहत पम्पिङ, लिफ्ट तथा सह लगानीका खानेपानी आयोजना सञ्चालन गर्न ६ अर्ब रुपैयाँ सरकारले बिनियोजन गरेको छ । त्यस्तै तराई मधेशका सबै जिल्लामा वितरण हुने खानेपानी आर्सेनिक मुक्त बनाईने बताईएको छ । साना खानेपानी आयोजनाहरु प्रदेश सरकार अन्तर्गत सञ्चालन गर्ने गरी वित्तीय हस्तान्तरण गरिने अर्थमन्त्री खतिवडाले बताए ।

चालु आर्थिक वर्षभित्र मेलम्चीको काम सम्पन्न गरेर आगामी आर्थिक वर्षको सुरुवात देखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सरकारको लक्ष्य छ । त्यस्तै मेलम्ची आयोजनाको दोस्रो चरणको निर्माण कार्य यसैवर्षदेखि प्रारम्भ हुनेछ । जसका लागि सरकारले ५ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ । काठमाडौं उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि सरकारले ५ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version