एजेन्सी: भारतको कोरोना संक्रमित संख्याले इटालीको संक्रमित संख्यालाई उछिनेको छ।

पछिल्लो विश्व विवरण अनुसार इटालीलाई उछिन्दै धेरै संक्रमित भएको मुलुकमा भारत छैटौं स्थानमा पुगेको छ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार भारतमा संक्रमित संख्या २ लाख ३६ हजार १ सय १७ पुगेको छ, जबकी इटालीको कुल कोरोना संक्रमित संख्या २ लाख ३४ हजार ५ सय ३१ रहेको छ।

यसैगरी कोरोनाका कारण हुने दैनिक मृत्यु संख्यामा पनि भारतले नयाँ रेकर्ड कायम गरेको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा एकैदिन ३ सय जनाको कोरोनाका कारण ज्यान गएपछि दैनिक मृत्युदरमा नयाँ रेकर्ड बनेको हो।

योसँगै शुक्रबारसम्म भारतमा कोरोनाबाट मृत्युसंख्या ६ हजार ५ सय ७५ पुगेको छ।

दैनिक मृत्यु संख्यामा नयाँ रेकर्ड कायम भएपनि संक्रमित दरका आधारमा मृत्युदर स्थिर नै रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

हाल योदर २.८ प्रतिशत रहेको छ। विश्वमा यो दर ५.८ प्रतिशत रहेको छ।

पछिल्ला सात दिनमा भारतको कोरोनाका कारण हुने औषत मृत्यु संख्या २ सय ३९ रहेको छ। यसअघि यो १ सय ७९ थियो।

यसैगरी भारतमा संक्रमित संख्या प्रतिदिन १० हजारको नजिक पुग्न थालेको छ। लगातार तेश्रो दिन पनि संक्रमित संख्या ९ हजारमाथि हुँदै गएकाले यो दरले छिट्टै १० हजार छुने ठानिएको छ।

शुक्रबार भारतमा ९ हजार ३ सय ९८ नयाँ संक्रमित फेला परेका थिए भने बिहीबार र बुधबार यो संख्या क्रमशः ९ हजार ९ सय ६२ र ९ हजार ५ सय ६५ थियो।

विशेषज्ञहरूले लकडाउन घोषणाले संक्रमणदरलाई कम गरेको भएपनि विस्तारै खुकुलो भइरहेको लकडाउनका कारण जुन-जुलाईमा यो संख्या आफ्नो उच्चतम बिन्दुमा पुग्ने र क्रमशः कम हुन थाल्ने जनाएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version