काठमाडौं: व्यापारीहरुले काठमाडौंको केन्द्रबिन्दु अर्थात न्यूरोड, खिचापोखरीमा आफूखुसी खोलिएका पसलहरु आज बिहानदेखि प्रहरीले बन्द गराउन थालेको छ ।
मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा एकै छिन माहोल गर्मिएको थियो।
बिहान त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको थियो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गराएको बताए ।
यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो । र, सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
यता, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पहिलोक्लिकसंग कुरा गर्दै भने, “ब्यापारीहरुसंग यस अघि छलफल भएपनी सरकारले अहिलेसम्म लकडाउनको बारे केहि अर्को नयाँ निर्णय नआएकोले अहिले देश पूर्ण लकडाउनमै रहेको छ।”
यो निर्णयपछि बौद्ध लगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएको बताउँदै पसल बन्द गराउने गरेका छन् ।
