काठमाडौं: सरकारले अलपत्र परेका नेपाली नागरिक स्वदेश फर्काउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, निजी विमान कम्पनी हिमालय एयरलाइन्स र विदेशी वायुसेवा कम्पनीको जहाज प्रयोग गर्ने भएको छ।

विहीबारदेखि सरकारले अलपत्र परेका नेपालीका लागि ‘रेस्क्यु फ्लाइट’ गर्दैछ। विभिन्न मुलुकले आफ्नै खर्चमा नेपाली नागरिक स्वदेश फर्काउन चाहेमा विदेशी जहाज समेत प्रयोग गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको संयोजकत्वमा बसेको बैठकले जहाज र भाडादरको निर्णय गरेको हो।

मन्त्रालयले पहिलो चरणमा ११ जुनदेखि जुन २५ गतेसम्मको लागि उडान तालिका समेत तय गरेको स्रोतले जनाएको छ।

मन्त्रालयको निर्णय अनुसार दुई सातामा ६७ वटा उडान हुनेछ। स्रोतका अनुसार नेपाल वायुसेवा निगमको २४, हिमालय एयरलाइन्स १९ र विदेशी २४ वटा उडान हुने गरी तालिका तय भएको छ। मन्त्रालयले न्यूनतम भाडा एक सय ६५ डलर बंगलादेशको लागि तोकेको छ भने अधिकतम भाडा बढी लन्डनका लागि १३ सय ४० डलर तोकेको छ।

फ्रयाङफर्ट-काठमाडौं उडानका लागि १२ सय ५५ डलर भाडादर निर्धारण भएको छ। वायुसेवा कम्पनीले यात्रु ल्याउँदा ८५ प्रतिशत अकुपेन्सी अनिवार्य कायम हुनुपर्नेछ।

उडान गर्ने यात्रुसँग पिसिआर वा आरटिडी परीक्षणमा नेगेटिभ भएको प्रमाण पत्र अनिवार्य हुनुपर्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version