काठमाडौँ: नागरिक स्टक डिलर कम्पनीले साउनको पहिलो साताबाटै शेयर बजारमा प्रवेश गर्ने भएको छ।
नागरिक स्टक डिलर कम्पनीको बहुमत शेयर होल्डर कम्पनी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले स्टक डिलरको अनुमति लिनको लागि आवश्यक कागजातहरु जुटाउने काम भइरहको जानकारी दिए ।
कार्यकारी निर्देशक नेपालले भने, ‘शेयर बजारमा प्रवेश गर्न धितोपत्र बोर्डलाई भन्दा हामीलाई हतारो छ । लकडाउनको कारण स्टक डिलर कम्पनीको बोर्ड बस्न नसकेकाले केहि ढिलाई भएको मात्र हो । हामी अनुमति लिने प्रक्रियाको अन्तिम चरणमा छौ, कम्पनीको लागि आवश्यक भौतिक पूर्वाधार, सफ्टवेयर तथा उपकरण जडान र कर्मचारी व्यवस्थापनको काम भइरहको छ । अहिले नागरिब लगानी कोषबाटै काम भइरहेको भएपनि कम्पनीका लागि घर लिने प्रक्रिया अघि बढेको छ । सबै काम केहि दिनमा सकाएर हामी बोर्ड जान्छौ। साउनको पहिलो साताबाटै कारोबार सुरु गर्छौ ।’
बोर्डले पत्रचार गर्नुअघि नै हामीले आवश्यक प्रक्रियाहरु अगाडि बढाइसकेका थियौ, लकडाउनको कारण केहि विलम्ब हुन पुगेको हो, नयाँ आर्थिक वर्ष सुरु हुनसाथ हामी कारोबार थाल्छौ नेपालले भने ।
नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन असार १ गते पत्रचार गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि धितोपत्र बजारको विस्तारका लागि स्टक डिलर सञ्चालनमा घोषण गरेको छ ।
नागरिक लगानी कोषले सर्वसाधारणको समेत स्वामित्व रहनेगरी गत माघमा स्टक डिलर कम्पनी दर्ता गरेको थियो । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ राखिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी वापतको ३ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने क्रममा छ । सर्वसाधारणको डेढ अर्ब बाहेकको यो रकमबाट हालसम्म कम्पनी स्थापनाको क्रममा भएको खर्च, कार्यालय व्यवस्थापन लागि आवश्यक रकम राखेर बजार विश्लेषण गरेर लगानी गर्दै जाने योजनामा कम्पनी रहेको नेपालले बताए ।
