काठमाडौं : सेयर बजार अनिश्चितकालीन बन्द गरिएको छ । नेपाल स्टक एक्सचेन्जले विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नहुँदासम्म बजार बन्द गरिने बताएको हो ।
त्यसो त अहिले पनि सेयर कारोबार बन्द नै छ । यसअघि गत साता नेप्सेले बोर्डको निर्देशनमा बिहीबारसम्मका लागि कारोबार बन्द गरेको थियो ।
अब आइतबारबाट बजार खुला हुन सक्ने सम्भावना रहेको भन्दै नेप्सेले तयारीमा रहन सरोकारवाला सबैलाई सूचना जारी गरेको थियो । तर शनिबार फेरि नेप्से विज्ञप्तिमार्फत धितोपत्र बोर्डको अर्को निर्देशन प्राप्त नभएसम्म बजार बन्द रहने बताएको हो ।
यता, धितोपत्र बोर्डले भने बजार सुधारका लागि पहल भइरहेको बताएको छ । सुधारका लागि बोर्डले नेपाल अर्थ मन्त्रालय तथा केन्द्रीय बैंकमा पत्राचार गरेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सुधारका कार्यक्रम ल्याउने बताइरहेको छ । यसर्थ, बजार खुला हुने मिति अझै अनिश्चित बनेको छ । यता, सेयर लगानीकर्ताहरुले पनि बजार सुधारका लागि विभिन्न माग अघि सारेका छन् । ती मागहरु पूरा नभएसम्म बजार खोल्न नहुने उनीहरुको भनाई छ ।
