काठमाडौं:ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । क्षेत्रीले दिएको राजीनामा पनि बैङ्कको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

बैङ्क बोर्ड श्रोतका अनुसार उनले केही साता पहिले नै पदबाट राजीनामा दिएका थिए । पेन्डिङमा रहेको राजीनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको बाेर्ड स्रोतले जानकारी दिएकाे छ ।

‘सीईओ सा’पले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय अगाडि नै राजीनामा दिनुभएको थियो, तर राजीनामाका विषयमा निर्णय भइसकेको थिएन’ बाेर्ड स्रोतले भन्याे, ‘उहाँको राजीनामा स्वीकृत गरेर बोर्ड बैठक भर्खरमात्रै सकिएको छ ।’

तत्कालीन दुई ठूला वाणिज्य बैङ्क (ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क नेपाल) मर्ज भएर ग्लोबल आईएमई बनेपछि क्षेत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बैङ्कको सीईओ बनेका थिए ।

तत्कालीन जनता बैङ्कको सीईओ रहेका उनलाई बैङ्कको कार्यकारी नेतृत्व सुम्पिन दुवै बैङ्कका सञ्चालकहरू तयार भएका थिए ।

उनको राजीनामा स्वीकृत भएसँगै बैङ्कका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी पाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version