काठमाडौं : सत्तारुढ नेकपा पार्टीभित्र जारी विवादको गोलचक्कर फेरि सचिवालयतिरै फर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव नेपालबीच बिहीबार सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवादलाई केन्द्रीय कमिटीमा लगेर छलफल गर्ने सहमति भएको थियो।
चौबिस घन्टा नबित्दै सो सहमति थन्क्याएर फेरि पार्टी सचिवालय बैठक बोलाउनेमा नेताहरू पुगेका छन्। आज प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि आज (शनिबार) दिउँसो तीन बजे सचिवालय बैठक गर्ने निर्णयमा उनीहरू पुगेका हुन्।
दुई नेताले शुक्रबार ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक पनि साउन ४ गतेका लागि सारेका छन्। सुरूमा उक्त बैठक शुक्रबारै तीन बजेका लागि सारिएको थियो।
‘एक पटक सचिवालयमा सामूहिक रूपमै छलफल गर्ने भनेर सचिवालय बैठक बोलाइएको हो,’ प्रचण्डनिकट श्रोतले सेतोपाटीसँग भन्यो, ‘दुई अध्यक्षबीच कुनै सहमति भएको होइन। समस्या जहाँको त्यहीँ छ।’
बालुवाटारनिकट स्रोतले भने दुई अध्यक्षबीच भइरहेका संवादमा अन्य नेतालाई पनि प्रवेश गराएपछि सहमतिको वातावरण थप बिग्रिएको आरोप लगाएको छ।
‘माधव नेपालको इन्ट्री र खुमलटार बैठकले वातावरण भाँडिएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने नियतले जे-जे बैठक बोलाउने भनिएको छ, सबै उहाँले मान्दिनुभएको हो।’
प्रचण्ड-नेपालले सचिवालय बैठक बोलाउन कर गरेकाले बोलाएको र यसमा सहमति नभए त्यसको असर साउन ४ गतेको स्थायी समिति बैठकमा पनि पर्नसक्ने प्रधानमन्त्रीनिकट एक नेताले बताए।
नेकपा स्थायी समिति सदस्य पम्फा भुषालले समस्या समाधान प्रयासका लागि शुक्रबारको स्थायी समिति बैठक स्थगित गरिएको बताइन्।
‘यो पनि समस्या समाधानको एउटा बाटो होजस्तो मलाई लागेको छ। ४ सय ४० जना केन्द्रीय सदस्यबीच बहस हुनुभन्दा दुई, तीन जना वा ९ र ४० जनामा हुने बहस फरक हुन्छ,’ उनले भनिन्, ‘बैठक सार्नुलाई मैले सकारात्मक रुपमा लिएकी छु।’
यसपालि स्थायी समिति बैठक सुरू हुने बेलामा समेत सचिवालय बैठक बोलाइएको थिएन। सचिवालय बैठकले स्थायी समितिका एजेन्डा तय गर्ने यसअघिको परम्परा तोड्दै स्थायी समितिमै एजेन्डा पारित गरिएको थियो। सहमति नभएकै कारण स्थायी समितिमा राजनीतिक प्रतिवेदन समेत पेश हुन सकेको थिएन।
असार १० गतेदेखि सुरू भएको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि असार १८ गतेदेखि बैठक बस्न सकेको छैन। त्यसयता दुई अध्यक्षबीच पटक पटक छलफल जारी छ र स्थायी समिति बैठक लगातार सारिएको छ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ भने प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। सहमति प्रयासका लागि हुने दुई अध्यक्षका बैठकहरू यही विवादको गोलचक्करमा फसेका छन्।
स्थायी समिति र संसदीय दलमा बहुमत नपुग्ने भएपछि प्रचण्ड-नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाउन चाहेका प्रधानमन्त्री पक्षधरको आरोप छ।
‘उहाँहरू अब दुवैतिर अल्पमतमा पर्दै जानुभएको छ। त्यहीभएर अनेक बखेडा झिक्नुभएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘उहाँहरूले आफ्ना भनेका स्थायी समिति सदस्यहरू हाम्रा पक्षमा आएपछि उहाँहरू आत्तिनुभएको हो।’
प्रचण्ड-नेपाल पक्षका एक स्थायी समिति सदस्यले भने प्रधानमन्त्री ओली स्थायी समिति र संसदीय दल दुवैतिर अल्पमतमा रहेको दावी गरे।
‘उहाँसँग संसदीय दल र स्थायी समितिमा बहुमत भएको भए उहाँले सामना गर्नुहुन्थ्यो। संसदीय दलमा बहुमत पुर्याएर देखाउनुहुन्थ्यो होला। केन्द्रीय कमिटीमा त उहाँको झनै कमजोर अवस्था छ,’ ती सदस्यले भने, ‘केन्द्रीय कमिटीमा जाँदा एउटा प्रस्ताव नलिइकन गए भद्रगोल हुने भएकाले सचिवालय बोलाइएको हो।’
स्थायी समिति स्थगित गरेर केन्द्रीय कमिटी बोलाइने भनिएकोमा अहिले सचिवालय बैठक बोलाइएकोमा कतिपय सचिवालय सदस्यहरू नै रनभुल्ल परेका छन्।
