काठमाडौं: हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले १९ लाख ९१ हजार नगद सहित पक्राउ गरेको छ।
शुक्रबार स्याङ्जा घर भइ सामाखुशी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।
न्यौपानेले अवैध हुण्डी कारोबार गर्ने गरेकाे भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले अनुसन्धान थालेको थियो।
शुक्रबार उनी विशाल बजारमा शंकास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले फेला परेपछि उनलाई पक्राउ गरेको हो।
उनले बोकेको कालो रंगको झोलाभित्र हुण्डी कारोबार गर्न लगिरहेको १९ लाख ९१ हजार रकम फेला परेको हो। प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाएको छ।
