काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गरेका छन ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै प्रधानमन्त्रीले नेतृत्व लिएर काग गर्न आग्रह गरे ।

आफ्ना माग पूरा गर्न पहलकदमी लिएकामा धन्यवाद दिन भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएका डा केसीलाई उहाँले भन्नुभयो, “म प्रधानमन्त्री भएका बेला तपाईं अनशन नै बस्नुपर्ने थिएन । माग पूरा गराउन अरु धेरै विकल्प थिए र छन् ।”

“जनताको स्वास्थ्य सेवासँग गासिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाउँ,” प्रधानमन्त्री ओलीले केसीलाई भने, “त्यसको कमाण्ड तपाई सम्हाल्नुस्, दुर्गमका जनतामा स्वास्थ्य सेवा पु¥याउन अवरोध गर्ने विरुद्ध डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस्, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।”

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कैयौँ योग्य चिकित्सक र प्रशासक रहेको केसीले बताए । “म त्यस्तो संयन्त्रमा बस्दिन, बाहिरै बसेर काम गर्छु, अन्य योग्य व्यक्ति धेरै हुनुहुन्छ”, केसीले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र जनताको स्वास्थ्य तथा शिक्षामाथि आफ्नो संकल्प र प्रतिबद्धता कमजोर नरहेको बताए । प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सीमित रहनुपर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको बताए ।

“जनतालाई कसरी सुलभ स्वास्थ्य सेवा दिन सकिन्छ, कसरी सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन सकिन्छ भन्ने कुरामा तपाईंसँग भएका सम्झौताको सीमामा मात्रै बस्नुपर्छ भन्ने छैन”, प्रधानमन्त्रीले भने, “सरकार त्योभन्दा फराकिलो भएर जान चाहन्छ ।”

प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गासेर आफूलाई नहेर्न केसीलाई आग्रह गर्नुभयो । “तपाईहरुलाई के भ्रम नहोस् भने, फलानो कलेजलाई सम्बन्धन दिनु वा नदिनुसँग मेरो कुनै लिनुदिनु छैन”, प्रधानमन्त्रीले भने, “चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्ने कुरामा म प्रतिबद्ध छु ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version