काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले सबै क्षेत्रको समस्यालाई समाधान गर्न सरकारले योजनाबद्धरुपमा प्रयास गरिरहेको बताए ।

औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भएको र केही समयभित्रै पूर्णरुपमा परिणाम आउने प्रधानमन्त्रीको कथन थियो ।

प्रधानमन्त्री ओलीले भने, “उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिलगायत क्षेत्रको सुधार गर्दै समग्ररुपमा मुलुकको आर्थिक अवस्थाको सुधारमा सरकार लागिपरेको छ । त्यसमा निजी क्षेत्रको साथ जरुरी रहन्छ ।”

स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायी मर्कामा परेको भन्दै महासंघको टोलीले प्रधानमन्त्रीसँग गुनासो गरेको थियो ।

महासंघका अध्यक्ष भवानी राणाले करको बोझ अन्त्य, पुराना औद्योगिक नीति परिवर्तनलगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिइन् ।

अध्यक्ष राणाले प्रधानमन्त्रीले यसअघि दिएको निजी क्षेत्र सम्मिलित परामर्श समूह गठन गर्ने आश्वासनलाई छिटो पूर्णता दिनुपर्नेमा समेत ध्यानाकर्षण गराएकि छिन ।

साथै उनले सरकारका तर्फबाट उत्पादकत्व अभिवृद्धि गर्ने, लगानी आकर्षण गर्ने खालका “स्टीमुलस प्याकेज” घोषणा गर्न समेत आग्रह गरिन ।

प्रादेशिक सरकार र निजी क्षेत्र हातेमालो गरी आर्थिक विकास गर्न महासंघ र प्रदेश सरकार बीच सहमती समेत भएको स्मरण गराउदै महासंघले सातै प्रदेशमा आयोजना गरेको प्रादेशिक आर्थिक वहसबाट आएका निष्कर्श समेतलाई समेटेर केन्द्रमा संघीय सरकारलाई सुझाव पेश गर्ने कार्यक्रम समेत रहेको प्रधानमन्त्री समक्ष जानकारी दिइन्।

सो अवसरमा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट महासंघका अध्यक्ष राणाले दुई तिहाईको सरकार आएपछि नया“ उर्जाका साथ मुलुक समृद्धिको मार्गमा अगाडी बढ्ने अपेक्षा निजी क्षेत्रले गरेकोमा त्यसको महशुस हुन नसकेको गुनासो प्रधानमन्त्री समक्ष राखिन ।

प्रधानमन्त्रीले अगाडी सरेको अभियानलाई साकार बनाउन निजी क्षेत्र तयार छ, यसका लागि उपयुक्त वातावरण बनाई दिन महासंघले आग्रह गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version