फ्लोरिडा: अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्री डगलस हर्ली र रोबर्ट बेन्केन पृथ्वीमा फर्किएका छन् । स्पेस एक्स ड्रयागन क्याप्सुल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका दुई अन्तरिक्षयात्रीहरू अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोलाको तटस्थित गल्फ अफ मेक्सिकोमा सकुशल अवतरण गरेका हुन् । अवतरण गरेलगत्तै उनीहरूलाई लिन पानीजहाज पुगेको थियो ।

अन्तरिक्षयात्री डगलस हर्ली र रोबर्ट बेन्केन

‘स्पेस एक्स र नासाको टोलीका तर्फबाट पृथ्वीमा पुनः स्वागत छ । स्पेस एक्स उडाउनु भएकामा धन्यवाद,’ स्पेस एक्स मिसन कन्ट्रोलले अवतरणलगत्तै भनेको थियो । यो साढे चार दशकपछि पानीमा अवतरण गरेको मानवसहितको पहिलो अमेरिकी यान हो । ४५ वर्षअघि अपोलो कमान्ड मोड्युल अवतरण गराइएको थियो ।

 

दुई महिनाअघि उक्त क्याप्सुल प्रक्षेपणको कार्यक्रममा सहभागी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित अवतरणको स्वागत गरेका छन् ।

 

‘सबैलाई धन्यवाद,’ ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘दुई महिना लामो मिसन सम्पन्न गरेर नासाका अन्तरिक्षयात्रीहरू पृथ्वीमा फर्किएको विषय सुखद छ ।’ अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त क्याप्सुल अवतरणका क्रममा ४ वटा प्यारासुट प्रयोग गरिएको थियो । करिब ५ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा तल झरिरहेको क्याप्सुलको गतिलाई समुद्रमा ओर्लनै लाग्दा ती प्यारासुटले करिब २४ किलोमिटर प्रतिघण्टामा सीमित गरिदिएका थिए । अवतरणपछि अन्तरिक्षयात्रीलाई चिकित्सकको टोलीले परीक्षण गरेको थियो । त्यसपछि उनीहरूलाई समुद्रको किनारमा ल्याइएको थियो ।

सन् २०११ मा ‘द स्पेस सटल्स’ नामक अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैंले अन्तरिक्षयात्री पठाउन छाडेको थियो । त्यसयता अन्तरिक्ष केन्द्रमा आफ्ना यात्री पठाउन अमेरिका रुसको ‘सोयुज रकेट एन्ड क्याप्सुल’ प्रणालीमा निर्भर रहिआएको थियो । यस पटक भने नासाले अरूको अन्तरिक्ष यान भाडामा लिएर उडाएको हो ।

 

अन्तरिक्षयात्री लगेको स्पेस एक्स कम्पनीले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत बिक्री गर्न पाउनेछ । अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रशासक जिम ब्रिडेन्स्टाइनले आफैं प्रक्षेपण प्रणालीको निर्माण र व्यवस्थापन नगर्ने कामले चन्द्रमा र मंगल ग्रहमा जाने मिसनका लागि पैसा बचत हुने भएकाले त्यसबारे तयारी भइरहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version