काठमाडौँ: महाधिवेशनको तयारी सँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेतृत्व हत्याउन दौडधुप सुरु भएको छ।

 

वर्तमान सभापति शेरबहादुर देउवाका अतिरिक्त कांग्रेसमा कम्तिमा आधा दर्जन नेताहरूले सभापति पदमै उम्मेदवारी दिने घोषणा गरेका छन्।

 

वर्तमान उपसभापति विमलेन्द्र निधीले बिहीबार देउवासँग भेटेर आफु सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोग गर्न आग्रह गरे।

 

‘तपाईं अब अभिभावक भएर बस्नुस्, म सभापतिमा उठ्छु, सहयोग गर्नुस्’, बिहीबारको भेटमा देउवालाई निधीको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने, ‘देउवा र रामचन्द्र पौडेलले अब उम्मेदवारी नदिएर त्यसपछिको पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने हिसावले निधी अगाडि सर्नु भएको हो।’

 

अब हुने १४औं महाधिवेशनपछि पनि सभापति हुने सम्पूर्ण तयारीमा रहेका देउवाले भने निधीलाई ‘एक पटक आफुलाई सभापतिमा सहयोग गर्न’ आग्रह गरेका थिए।

 

‘१५ औं महाधिवेशनसम्म त म पनि ७० वर्ष पुग्छु, त्यसैले यसै पटक मलाई छोडिदिनुस्, फेरि पनि तपाई आफैं उठ्ने कुरामा पुनर्विचार गर्नुस्’, निधीको भनाइ उधृत गर्दै ती नेताले थपे।

 

शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, डा. शेखर कोइराला, शशांक कोइराला, गगन थापा, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरूले कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने बताइरहेका छन्।

 

महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूहहरू मर्ज भएर पहिलेजस्तै दुई वा तीन समूह बन्ने अपेक्षा अहिले पनि गरिएको छ। त्यस क्रममा सभापतिका दाबेदारहरू घट्दै जानेछन् र अन्तमा दुई वा तीन उम्मेदवार हुने सम्भावना बढी छ।

 

पार्टीमा उपसभापति वा महामन्त्रीको सिट सुरक्षित गर्ने रणनीति अन्तर्गत अहिले आफुलाई सभापतिकै उम्मेदवारका रुपमा प्रस्तुत गरेर वार्गेनिङ गर्ने क्रम पनि सुरु भएको छ।

 

‘अहिले सभापतिमै उठ्छु भन्ने कति नेताहरूको दाउ उपसभापति वा महामन्त्री बन्ने हो, त्यसका लागि उनीहरू सभापतिबाट वार्गेनिङ सुरु गर्दैछन्’, कांग्रेसका एक जना युवा नेता भन्छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version