काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा ११ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले पछिल्लो ३ आर्थिक वर्षमा २३ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ ।

सोमबार आयोजित वार्षिकोत्सवका क्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाले आव २०७३/७४ देखि नाफा कमाउन सुरु गरेको बताएका छन् । आव २०७४/७५ मा २ अर्ब ८५ करोड रुपैयाँ, आव २०७५/७६ मा ९ अर्ब ८१ करोड रुपैयाँ र आव २०७६/७७ मा ११ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आव (२०७५/७६) मा प्राधिकरणले २ अर्ब ५४ करोड ८० लाख युनिटको तुलनामा गत आवमा ३ अर्ब २ करोड १० लाख युनिट विद्युत् उत्पादन भएको थियो । यो अघिल्लो आवको तुलनामा १८.५७ प्रतिशत बढी रहेको जनाइएको छ ।

प्राधिकरणका अनुसार चार वर्ष अगाडिसम्म सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैया“ र वार्षिक घाटा ८ अर्ब ८९ करोड रुपैया“ थियो । त्यसयता निरन्तर नाफा गर्दै हाल ४ अर्ब ८७ करोड सञ्चित नाफा र गत वर्षमात्र ११ अर्ब ५ करोड खुद नाफा कमाउन सफल भएको छ ।

आव २०७६/७७ मा अन्य आय बाहेकको प्राधिकरणको आम्दानी ७३ अर्व ७६ करोड रुपैयाँमा सञ्चालन खर्च ५८ अर्ब ६ करोड रुपैयाँ कट्टा गर्दा सञ्चालन मुनाफा १५ अर्ब ६९ करोड रुपैयाँ छ । जुन अघिल्लो आवको सञ्चालन मुनाफा १२ अर्ब ५ करोड रुपैयाँको तुलनामा ३०.२१ प्रतिशतले बढी हो ।

चार वर्षअगाडि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावट घटाएर गत वर्षसम्ममा १५.२७ प्रतिशतमा सीमित भएको छ । यसबाट प्राधिकरणको वित्तीय अवस्थामा सुधार भएको जनाइएको छ । सोही अवधिमा ६३ प्रतिशत जनतामा विद्युत पुगेको र हाल करिब ८६ प्रतिशतमा पुगेको छ । चार वर्षअगाडि प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १३१ युनिट रहेकोमा त्यसयता विद्युत् खपत निरन्तर बढेर हाल प्रतिव्यक्ति विद्युत खपत २६० युनिट पुगेको छ ।

१० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ उपभोक्तालाई ईनर्जी शुल्क निशुल्क गरेको र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । समग्रमा गार्हस्थ उपभोक्ताको महशुल करिब -९ प्रतिशतले घटेको प्राधिकरणको दाबी छ । औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्तालाई लगाउँंदै आएकोे डेडिकेटेड र ट्रंक लाइनको महँगो महशुलसमेत हटाएको छ ।

देश १४ घण्टासम्म लोडसेडिङमा हुँदा मुलुकभित्रको कूल विद्युत् खपतको करिब ३५ प्रतिशत भारतबाट आयात गर्नुपर्ने अवस्थामा थियो । तर, चार वर्ष यता विद्युत् खपत करिब ७५ प्रतिशतले बढेको अवस्थामा पनि गत वर्ष आयातको प्रतिशत करिव २२ प्रतिशतमा मात्र सीमित रहेको छ । प्राधिकरणले विद्युत आयात गर्ने मात्र हैन निर्यात पनि शुरु गरेको छ । गत वर्ष १० करोड ७० लाख युनिट विद्युत् निर्यात गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version