काठमाडौँ: निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा एउटा बैंकको एक शाखा मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले शुक्रबारदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको छ ।

‘उपत्यकाका तीन जिल्लामा दैनिक हरेक बैंकका एक/एक शाखा मात्र खुल्नेछन्,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘बैंकहरूले आलोपालोका आधारमा कुन शाखा खोल्ने भन्ने निर्णय गर्नेछन् ।’ ती शाखाबाट पनि सीमित बैंकिङ (आधारभूत) सेवा मात्र प्रवाह हुनेछ । शुक्रबारदेखि बैंकका कर्मचारी कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।

हरेक दिन उपत्यकाका तीन जिल्लामा गरी एउटा बैंकमा ३० भन्दा बढी कर्मचारी नबोलाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । निषेधाज्ञाको समयमा सर्वसाधारणको आवतजावत कम हुने भएकाले उपत्यकामा एउटा बैंकका तीन वटा शाखा मात्र सञ्चालन हुने उनले बताए । ‘कोभिडको जोखिम उच्च छ, जोखिमबाट बच्नकै लागि पनि ग्राहकको भीड कम गर्न खोजेका हौं,’ उनले भने ।

राष्ट्र बैंकले पनि न्यूनतम कर्मचारीबाट सम्भव भएसम्म कम शाखा सञ्चालन गरी आधारभूत सेवा दिन निर्देशन दिएको छ । यही निर्देशनका आधारमा पनि एउटा बैंकको एउटा मात्र शाखा खोल्ने निर्णय भएको उनले बताए ।

बैंकका कर्मचारीलाई नरोक्न निर्देशन

बैंकका कर्मचारीलाई कार्यालय आवतजावतमा नरोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । कर्मचारीको आवतजावतमा अवरोध गर्दा बिहीबार उपत्यकाका सबै बैंक बन्द भएपछि गृह मन्त्रालयले उक्त निर्देशन दिएको हो । कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा कर्मचारीलाई आवतजावतमा अवरोध नगर्न मन्त्रालयले भनेको छ । ‘निषेधाज्ञाको अवधिमा पनि सर्वसाधारणलाई आधारभूत बैंकिङ सेवा प्रवाह गर्ने सन्दर्भमा कार्यालय जाने कर्मचारीलाई आवश्यक समन्वय तथा सहजीकरण गर्नका लागि आदेशानुसार अनुरोध गरिन्छ,’ गृह मन्त्रालयको पत्रमा भनिएको छ ।

आधारभूत बैंकिङ सेवा मात्र

निषेधाज्ञाको समयमा पनि आधारभूत (नगद जम्मा/भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ आदि) निरन्तर राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गरी उक्त निर्देशन दिएको हो । निषेधाज्ञालगायत विशेष आदेशको पालना गरी बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने आधारभूत बैंकिङ सेवा निरन्तरता दिन स्वास्थ्य सुरक्षासँग सम्बद्ध मापदण्ड कायमै रहने गरी आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा निरन्तर गर्न/गराउन राष्ट्र बैंकले भनेको छ ।

विद्युतीय कारोबारलाई सुनिश्चित गरी सम्भव भएसम्म ग्राहकलाई विद्युतीय कारोबारमा प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले भनेको छ । ‘एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्ने र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउने,’ विज्ञप्तिमा उल्लेख छ, ‘अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउने ।’
यो समाचार आजको कान्तिपुर दैनिकमा यज्ञ बन्जाडेले लेखेका छन्  ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version