काठमाडौँ: नियमित अन्तर्राष्ट्रिय उडान भदौ १६ (सेप्टेम्बर १) देखि सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्‌मा बिहीबार पेस गरेको प्रस्तावमा शुक्रबार उपप्रधानमन्त्रीसहित चार मन्त्रीको बैठकलाई टुंगो लगाउन जिम्मा दिइएको छ ।

 

पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, अर्थ तथा संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा र मुख्य सचिव लोकदर्शन रेग्मीलाई यो विषय टुंग्याउन जिम्मेवारी दिएका छन् ।

 

‘हामीले लिएको उडान सुचारु गर्ने प्रस्तावमा छलफल भयो । त्यहाँ आएको सुझावका आधारमा भोलि (शुक्रबार) त्यसलाई फाइनल गर्न प्रधानमन्त्रीले भन्नु भएको छ’, बैठकपछि पर्यटनमन्त्री भट्टराइले भने, उडान सुचारुबारे भोलि निर्णय हुने छ ।’

 

पर्यटनमन्त्री भट्टराईले मन्त्रालयका तर्फबाट मन्त्रिपरिषद्‌मा कोराना संक्रमण न्यून भएका तथा स्वास्थ्य जाँच गर्न सजिलो भएका मुलुकबाट नियमित (निश्चित) उडान सुचारु गर्न सकिने प्रस्ताव लिएर गएका थिए ।

 

यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्  ।

 

‘जहाँ कोरोना संक्रमण अलि ज्यादा छ । त्यहाँ अहिलेकै जस्तो उद्धार फ्लाइट राखिदिने । संक्रमण कम भएको तथा पीसीआर जाँच सजिलो भएको मुलुकबाट लिमिटेड उडान खोल्ने प्रस्ताव गरेको थिएँ,’ उनले भने, ‘तर जहाँ पीसीआर टेस्ट छैन त्यहाँबाट आउनेले काठमाडौंमा एक हप्ता होटल क्वारेन्टाइनमा आफ्नै खर्चमा अनिवार्य बस्नु पर्ने प्रस्ताव थियो ।’

 

उडान खुला भएपछि खर्च बेहोर्न नसक्ने श्रमिकहरुको हकमा भने कल्याणकारी कोषको खर्चमा सरकारले हवाई जहाजको भाडादेखि होटल क्वारेन्टाइनसम्मको खर्च बेहोर्ने मन्त्री भट्टराईले बताए । भोलिको बैठकले काठमाडौंमा रहेका जिल्ला तहका सीसीएमसीलाई होटलको सूची सार्वजनिक गराउने जिम्मेवारी पनि दिँदै छ ।

 

यसैबीच गत मंगलबार नेपाल वायुसेवा निगमको उडानमा नल्याइएका २ सय ६० नेपालीलाई पनि उद्धार गरिने मन्त्री भट्टराईले बताए । ‘निगमको जहाज रित्तै फर्काउने निर्णय मलाई थाह नै थिएन,’ उनले भने, ‘सीसीएमसीको एउटा पत्रले निगमको जहाज रित्तै आए छ । ती नेपाली यात्रुलाई पनि ल्याइने छ ।’

 

पाँचौंपटकको उद्धार उडानअन्तर्गत नेपाल वायुसेवा निगको वाइडबडी विमानबाट मंगलबार २ सय ६० जना नेपाली स्वदेश फर्किंदै थिए । तर, सोमबार साँझ एकाएक छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालयलाई उद्धार उडान रोक्न पत्राचार गरेपछि दुबई विमानस्थलमा आइसकेका सयौं नेपाली अलपत्र परेका थिए । यो विषयमा मन्त्रिपरिषद्‍मा छलफल नभएको तर उनीहरुलाई प्राथमिकता दिइने उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version