काठमाडौं : सेयर खरिदबिक्री रकममा नयाँ माहोल देखिएको छ । नेप्से सूचक आकर्षक हिसाबले वृद्धि हुँदा खरिदबिक्रीमा नयाँ उत्साह देखिएको छ ।
केही दिनयता बजारले क्रमशः नयाँ उचाईहरु बनाइरहेको छ । नाफा गरेकाहरुले बेच्ने अनि अझै बढ्छ भनेर विश्वस्त हुनेहरुले खरिदक्रम बढाउँदा समग्र कारोबार रकममा भारी वृद्धि देखिएको हो । वित्तीय प्रणालीमा रहेको अधिक तरलता अनि यसका कारण उपलब्ध सस्तो ब्याजदरले सेयर बजारलाई उचाईमा पुर्याउन सहयोग पुगेको हो ।
लगानीकर्ताहरुले समग्र नेप्से भन्दा पनि आफूले लगानी गर्ने कम्पनीतर्फ बढी ध्यान दिन आवश्यक देखिन्छ । लगानी गर्ने कम्पनीको समग्र वित्तीय सूचकको गहन अध्ययन हुन आवश्यक छ । यसको नाफा, लाभांश बाँड्न सक्ने क्षमता, भविष्यमा व्यापार विस्तारको सम्भावना, सस्थापक तथा व्यवस्थापक समूह लगायतमा ख्याल गर्नुपर्ने हुन्छ । यसैगरी, कम्पनीको मूल्य–आम्दानी अनुपात, खरिद गरेपछि कति नाफा वा नोक्सान भयो भन्ने पक्षलाई समेत ख्याल गरेर निर्णय लिनुपर्नेछ ।
नेप्से सूचक २२.३१ अंकले बढेर ३ अर्ब ४६ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता सेयर खरिदबिक्री भएको छ । होटेल बाहेक कारोबार भएका सबै समूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २६०.३३ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ४.९५ अंकले बढेको छ ।
