काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने बताए।
कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियो लगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीको जिज्ञासामा चिकित्सकहरुले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए । चिकित्सकहरुले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएपनि नेपालका ९० प्रतिशत मानिसहरु मानसिक स्वास्थ्यउपचारको पहुँचमा नभएको बताएका छन् ।
सरकारले स्वास्थ्य क्षेत्रमा बजेट नै कम विनियोजन गरेको र त्यसमा पनि मानसिक स्वास्थ्य क्षेत्रमा झनै कम बजेट विनियोजन भएको बताएका छन् ।
छलफल पछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित मनेसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गरेको बताए ।
प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने बताएको उनले बताए ।
छलफलमा उक्त अवसरमा प्राडा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए ।
