काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल चार वर्ष थप गर्न शुक्रबार बस्ने मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवलायका एक सदस्यका अनुसार बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदबैठक शुक्रबारका लागि सारिएको छ। शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठक पनि बस्ने भएकाले सम्भवतः साँझ मात्रै मन्त्रिपरिषद बैठक बस्नेछ।
मन्त्रिपरिषद बैठक शुक्रबार सरेपछि रोल्पाबाट काठमाडौं फर्कंदै गरेका उर्जामन्त्री पुन बुधबार चितवनको भरतपुरमै बास बसेका छन्। उनी बिहीबार काठमाडौं आइपुग्ने छन्।
मन्त्री पुनको सचिवालयका एक सदस्यका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको कार्यकाल चार वर्ष थप्ने प्रस्ताव शुक्रबार मन्त्रिपरिषदमा लैजाने तयारी भइसकेको छ। उनले दुई वर्ष कार्यकाल थप गर्ने गरी प्रस्ताव लैजाने चर्चाको खण्डन गरेका छन्।
‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको कार्यकाल चार वर्ष थप्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी छ, दुई वर्षको हल्ला गलत हो’, मन्त्री पुनको सचिवालयका ती सदस्यले भने।
