काठमाडौँ: काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट संक्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ संक्रमित भएका छन् ।

 

त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी संक्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । होम आइसोलेसनमा बस्नेको संख्या दुई हजार ९९० रहेको छ ।

 

अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन् । पाँच हजार ५०९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ । प्रमुख कुँवरका अनुसार संक्रमणको कारण ८० जनाको मृत्यु भएको छ ।

 

सरकारले भने अनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ ।

 

उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ ।

 

सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ । अहिले देशभरिको कूल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

 

हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । नौ हजार ४७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २१० आइसियू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version