काठमाडौँ: शेयर बजारका लगानीकर्ताहरुले नजिकिँदो दशैंलाई शेयर बजारमा गरेको लगानी झिक्दा मंगलबार शेयर बजार परिसूचक मापक नेप्से दोहोरो अंकले घट्न पुगेको छ ।
असोज मसान्त नजिकिँदा ठूला कारोबारीहरु कर र ऋणको ब्याज भुक्तानीमा केन्द्रीत रहँदा उनीहरुले पनि बजारमा लगानी बढाएका छैनन्। साना लगानीकर्ताहरुले पनि आफ्ना भएको लगानीकमध्ये दशैं खर्च जोहो गर्नतर्फ लाग्दा सूचक दबाबमा परेको हो ।
मंगलबार नेप्से ०.६० प्रतिशत अर्थात ९.४२ अंकले घटेर १ हजार ५६८ दशमलव ५९ बिन्दुमा बन्द हुन पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ३११.४१ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १९३ वटा कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर २८ हजार ६४० पटक खरिद िबक्री हुँदा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबारको तुलनामा कारोबार रकम १२ करोड ९४ लाख रुपैयाँले घटेको हो ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये म्युचुअल फण्ड, उत्पादन र ब्यापारको सूचक सकारात्मक बनेको छ भने बाँकी ९ वटा उपसमूहको सूचक घटेको छ। आज जलविद्युत २.०४ र वित्तको सूचक १.९२ प्रतिशतले घट्दा बाँकी १ प्रतिशतभन्दा कमले घटेका छन् ।
