काठमाडौं : सेयर बजार सूचक झिनो अंकले भए पनि हरियो भएको छ ।
नयाँ अर्थमन्त्री चयन भएको भोलीपल्टको बजारले आम लगानीकर्तामा खासै उत्साह जगाउन सकेन । तर बजार सूचक बन्द हुने बेलामा हरियो देखिएको छ । यसले सकारात्मक संकेत भने गरेको छ । बजार खुलेको पहिलो प्रहरमा नेप्से आकर्षक हिसाबले चम्किएको भए पनि विस्तारै यसको गति सुस्त भएको थियो ।
विस्तारै फेस्टिभ मुड सुरु हुन थालेकाले बजार तुलनात्मकरुपमा सुस्त देखिएको फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको भनाई छ ।

एकातिर सर्वसाधारण लगानीकर्तामा फेस्टिभ मुड सुरु भएको छ भने अर्कोतिर नाफा भएकाहरुले त्यसलाई बुक गर्न लाग्दा पनि नेप्से केही प्रभावित भएको हो । लक डाउनपछि खुलेको बजार सुस्त गतिमा भए पनि निरन्तरजसो उकालो लागिरह्यो । यसरी वृद्धि भएको बजारबाट छोटो समयमा राम्रै लाभ हासिल गर्नेले बिक्री गर्न थाल्दा पनि केही चाप परेको अनुमान छ ।

अब विस्तारै लाभांशको सिजन सुरु हुँदैछ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा र साधारण सभा बोलाउन थाल्नेछन् । यस्तै, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण आउने क्रम पनि अब सुरु हुनेछ । यी तमाम परिदृश्यहरुका कारण बजारले विस्तारै गति लिने अपेक्षा गर्न सकिन्छ । यतिबेला सेयर खरिद गर्नेहरु छोटो समयमै लाभांशको हकदार हुन सक्नेछ ।

वित्तीय प्रणालीमा प्रचुरमात्रामा लगानीयोग्य रकम रहेको छ । यसका कारण ब्याजदर घटेको छ । लगानीका अन्य क्षेहरु संकुचित भएका छन् । यसकारण बजारले क्रमशः गति लिने अनुमान गर्न सकिन्छ । लामो समय बढेको बजार केही समय सुस्त हुनुलाई अस्वभाविक मान्न सकिंदैन । सेयर बजारलाई लगानीकर्ताको मनोविज्ञानले पनि प्रभावित बनाउने गर्छ ।

नेप्से सूचक बिहीबार १.२९ अंकले बढेर १५६२.४६ विन्दुमा अडिएको छ । १९६ कम्पनीको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४९ लाख ९४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । खरिदबिक्री भएकामध्ये ५ वटा समूह बढेका छन् भने बाँकी तल झरेका छन् । वाण्ज्यि बैंक समूहको सूचक १.९ अंकले वृद्धि भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version