काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता हुनुहुन्थ्यो भनेका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गर्नुभएको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरेका छन् ।
पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उहाँ नेपालको शुभचिन्तक र वास्तविक मित्र हुनुहुन्थ्यो भनेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय बाजपेयीले गर्नुभएको योगदानको स्मरण पनि गरेका छन् ।
स्वर्गीय बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहनुभूति एवं समवेदना प्रकट गर्नुभएको छ ।
असिम शोकको यो घडीमा भारत सरकार र त्यहाँका जनताका साथमा नेपाल सरकार रहेको प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीलाई पठाउनु भएको सन्देशमा उल्लेख गरेका छन् ।
नेता देउवाद्वारा श्रद्धाञ्जलि अर्पण
यस्तै, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज भएको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको बताएका छन् ।
सभापति देउवाले आज एक शोक सन्देश जारी गरी स्वर्गीय बाजपेयी नेपाल र नेपाली जनताका एक परम मित्र र नेपालप्रति सधैँ शुभेच्छा राख्ने राजनेता हुनुहुन्थ्यो भन्दै सन्देशमा आधुनिक भारतको निर्माणमा विकासको नयाँ बाटो देखाउन स्वर्गीय बाजपेयीको ठूलो योगदान रहेको उल्लेख गरेका छन् । उनको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव आफूलाई भएको श्री देउवाले बताएका छन् ।
स्वर्गीय अटल बिहारी बाजपेयीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना पनि उनले गरेका छन् । साथै सभापति देउवाले शोकको यस घडीमा भारत सरकार, भारतीय जनता तथा स्वर्गीय बाजपेयीका समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
नयाँ दिल्ली: एएनआई) भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनप्रति शोक व्यक्त गरेका छन् ।
भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ बर्षको उमेरमा नयाँ दिल्लीमा बिहीबार भएको निधनबाट यो संसारले एक ‘शालीन नेता’लाई गुमाएको छ ।
उनले मधुमेह,मृगौलालगायतका समस्याले ग्रस्त बनेपछि विगत नौ हप्तादेखि भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत थिए। लामो समय सफल राजनीतिक नेतृत्वको जिम्मेवारीपछि वाजपेयीले केही वर्ष यता राजनीतिबाट सन्यास लिएका थिए ।
राष्ट्रपति कोविन्दले ट्वीटरमा एक शोक सन्देश लेख्दै भनेका छन्, “हाम्रा पूर्व प्रधानमन्त्री तथा भारतीय राजनेता श्री अटल बिहारी वाजपेयीको निधनको खबरले म निकै दुःखी बनेको छु ।”
“उहाँको नेतृत्व, दीर्घ सोच, परिपक्वता, वाकपटुताले उहाँलाई विश्वभर एक कुशल नेताका रूपमा चिनिन्थ्यो । उहाँलाई सबैले सधैँ सम्झिरहनेछन् ।”
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमा लेख्नुभएको छ, “भाजपाका नेताको अवसानसँगै यस युगको समाप्त भएको छ ।”
“भारत हाम्रा प्रिय अटलजीको निधनमा गहिरो शोकमा डुबेको छ ।
उनको निधनबाट एक युगको अन्त्य भएको छ । उहाँ राष्ट्रका लागि बाँच्नुभयो र दशकौँसम्म परिश्रमका साथ काम गर्नुभयो । यस दुःखद घडीमा म उहाँको परिवारजन, भाजपाका कार्यकर्ता तथा शुभेच्छुकको साथमा रहने प्रतिवद्धता जाहेर गर्न चाहन्छु । ओम् शान्ति ।” “वाजपेयीको निधनले मेरो व्यक्तिगत जीवनमासमेत अपूरणीय क्षति पुगेको छ ।”
त्यसैगरी भारतीय उप–राष्ट्रपति भेन्काय नाइडुले पनि वाजपेयीलाई “एक सच्चा भारतीय” भन्दै उहाँको निधनबाट भारतलाई अपूरणीय क्षति पुगेको बताउनभएको छ ।
लामो समय भारतीय राजनीतिमा रहेका ९३ बर्षीय वाजपेयीको बिहीबार ५ बजेर ५ मिनेट जाँदा दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो । उहाँको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत जुन महिनाको ११ गते एम्समा भर्ना गरिएको र पछिल्लो ३६ घण्टासम्म स्वास्थ्यस्थिति स्थिर रहेको थियो । तर ३६ घण्टा यता उहाँको स्वास्थ्य निकै गम्भीर बनेपछि ‘लाइफ सपोर्ट सिस्टम’ को सहयोगमा उपचार भैरहेको थियो ।
