एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावको मतगणना आउने क्रम जारी छ ।
मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ ।
यो समाचार तयार पार्दासम्म सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् ।
कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव संसारभरको चासोको केन्द्र बनेको छ ।
आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन ।
सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।
विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो ।
तर, यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो ।
