काठमाडौं: ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ५ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । यसमा २२ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको जनाइएको छ ।

बैंकले प्रकाशित गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको असोज मसान्तको तुलनामा यस आवको सोही अवधिमा बैंकको नाफा ४०.५९ प्रतिशतले बढेको देखिन्छ । गत आवको पहिलो तीन महिना पूरा हुँदा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा ६५.७८ प्रतिशत बढेर १२ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, सञ्चालन नाफा गत आवको सोही अवधिको तुलनामा ४१.५३ प्रतिशत बढेर १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

तर, समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा भने ०.८५ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ।

अर्को ‘क’ वर्गको वाणिज्य बैंक जनता बैंकलाई गाभेको ग्लोबल आईएमईले गत आवको नाफाबाट यस वर्ष सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । जसमा १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत करसहित नगद लाभांश दिने भएको हो ।

जनता बैंकलाई गाभेपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ छ । बैंकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर वितरणपछि यो पुँजी २१ अर्ब ६३ करोड पुग्नेछ ।

हाल बैंकको जगेडा कोषमा करीब ९ अर्ब २७ करोड, अवितरित आय (रिटेन्ड अर्निङ) १ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version