काठमाडौँ: एशियाली विकास बैंक (एडीबी)ले नेपालका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि करिब रु १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार (१५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ।

बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागेको हो।

नेपालको प्रमुख आर्थिक गतिविधिको स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रलाई बढावा दिने लक्ष्यका साथ सरकारको आग्रहमा उक्त ऋण प्राप्त हुन लागेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये प्रमुख हो। सो विमानस्थल अन्तर्राष्ट्रिय तथा घरेलु यात्रुका लागिसमेत प्रमुख केन्द्रका रुपमा रहेको छ।

यस्तै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले वैकल्पिक अन्तर्राष्ट्रिय हवाई यातायात सुविधा प्रदान गर्ने उल्लेख गर्दै बैंकले लुम्बिनी गौतम बुद्धको जन्मस्थल एवं प्रमुख पर्यटन गन्तव्य रहेको उल्लेख छ।

बैंकको प्रधान कार्यालय मनिलाबाट आज जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पछिल्लो सहयोगले विमानस्थलको सुरक्षा, क्षमता र परिचालन दक्षता सुधार गर्ने विश्वास लिएको छ।

नयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माणपछि लुम्बिनी र वरपरका क्षेत्रीय पर्यटनलाई वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बैंकका वरिष्ठ यातायात विशेषज्ञ काई वी येओले उल्लेख गरे।

सो परियोजनाले नेपालको पर्यटन उद्योगलाई पुनःर्जीवित गर्न र कोभिड–१९ को महामारीका कारण परेको दीर्घकालीन नकारात्मक असरलाई सम्बोधन गर्न मद्दत गर्ने उनको भनाइ छ। ऋण सहयोगले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे विस्तार, ह्याङ्गर, एप्रोन निर्माण गरिनेछ।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनको क्षमता अभिवृद्धि गर्न सहयोग पु-याउनेछ।

सो परियोजनाको अर्को प्रमुख विशेषता भनेको जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्ने गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य प्यानल र स्वच्छ ऊर्जा प्रदान गर्ने सामग्री प्रयोग गरेर गरिनेछ। एशियाली विकास बैंकको सहयोगमा नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version