काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली अब सामाजिक सञ्जालमा प्रख्यात बन्दै गइरहेको टिकटकमा पनि उपलब्ध छन् ।
प्रधानमन्त्री ओलीले भिडियो सेयरिङमा ख्याती कमाएको र लोकप्रिय बन्दै गइरहेको टिकटकमा खाता खोलेका हुन् । उनको खाता केपीशर्मा ओली अफिसियल भेरिफाइड पनि भएको छ । प्रधानमन्त्री ओलीको खाता केही दिनअघि नै खोलेर भेरिफाइड गर्न अनुरोध गरिएको थियो । टिकटकले अनुरोध स्वीकार गरेको छ ।
प्रधानमन्त्रीको टिकटक खातामा फलोअर्स, लाइक र भ्युज बढ्दो छ । यो समाचार तयार पार्दासम्म प्रधानमन्त्रीको टिकटकमा ४ हजार ७ सय १२ जना फलोअर्स पुगेका छन् । भिडियो लाइक गर्नेको सङ्ख्या १८ हजार नाघेको छ । भिडियो भ्युज साढे दुई लाख नजिक छ ।
टिकटक खातामा प्रधानमन्त्री ओलीको पहिलो भिडियो
“मालपोत, विद्युत् महसुल, आन्तरिक राजश्व, भन्सार महसुल, सवारी चालक अनुमति पत्र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी काम समेत अगाडि बढाएको छ,” ओलीले टिकटक भिडियोमार्फत् भनेका छन् ।
