काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका धेरै उजुरीमा तथ्य–प्रमाण नहुने गरेको पाइएको छ । आर्थिक बर्ष ०७६–७७ मा परेका उजुरी मध्ये करिब साढे ९ हजार उजुरी छानविन गर्दा तथ्य–प्रमाण नभेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

बिहिबार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ३० औं बार्षिक प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा यस बर्ष परेका उजुरीमध्ये ९ हजार ३ सय ८७ उजुरी तामेलिमा राखेको उल्लेख गरिएको छ । तथ्य–प्रमाण फेला नपरेपछि ९ हजार ३ सय ८७ उजुरी प्रारम्भिक छानबिनपछि तामेलिमा राखिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले रातोपाटीलाई बताए । ‘प्रमाण र तथ्य नभेटिएका उजुरी हामीले तामेलिमा राख्छौं’ प्रवक्ता अधिकारीले भने–‘७ सय ८६ उजुरी चाहिँ सुझावसहित तामेलिमा गएका छन् ।’

आयोगमा यसबर्ष १६ हजार ५ सय ९४ उजुरी परेका थिए । गत बर्ष फस्र्योट हुन बाँकी समेत २५ हजार उजुर मध्ये करिब १७ हजार उजुरी उपर अख्तियारले कारवाही गरेको छ । कुल उजुरीमध्ये ६७ दशमलव ५ प्रतिशत फस्र्योट भएको र ३२ प्रतिशत उजूरी फस्र्योट हुन बाँकी छ ।

फस्र्योट उजुरी मध्ये करिब १२ सय उजुरीमाथी आयोगले विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको छ । यसबर्ष विस्तृत अनुसन्धानपछि आयोगले ४ सय ४१ वटा मुद्धा दर्ता गरेको छ । मुद्धा दर्ता संख्या आयोगको ३० बर्षे ईतिहसमा सवैभन्दा धेरै भएको आयोगको दावी छ । विस्तृत अनुसन्धानबाट ६ सय ८७ उजुरी कारवाही भएको छ ।

अख्तियारले विस्तृत अनुसन्धानपछि ९ उजुरी मुल्तवीमा राखेको छ । अदालतमा बिचाराधिन मुद्धाको उजुरी मुल्तवीमा राखिने र अदालतबाट टुंगिएपछि मात्रै सो उजुर उपर छानविन गरिने आयोगका प्रवक्ता अधिकारीले बताए ।

स्थानिय निकायका उजुरीको चाङ

अख्तियारमा यसबर्ष संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सो मातहतको स्थानिय निकायको उजुरी सवैभन्दा धेरै परेको छ । कुल उजुरी मध्ये ३० दशमलव ७ प्रतिशत संघिय मामिला र स्थानिय निकायसँग सम्बन्धीत छन् । शिक्षा क्षेत्रका १६ दशमलव ३६ प्रतिशत उजुरी आयोगमा दर्ता गरिएको छ ।

‘संघिय मामिला र स्थानिय निकायमा जनताको गुनासो धेरै रहेको पाइयो’ अख्तियार प्रवक्ता अधिकारीले भने–‘सो क्षेत्रमा सर्वसाधारणको समस्या समाधान नभएको देखियो, समुदाय सचेत भएको अवस्थामा पनि धेरै उजुरी आउने गरेको पाइन्छ ।’

अख्तियारमा पर्ने धेरै उजुरी रिसिवीका आधारमा पनि आउने गरेको पाइन्छ । प्रदेशतर्फका उजुरी विष्लेषण गर्दा प्रदेश–२ को सवैभन्दा धेरै भष्टाचारको उजुरी परेको छ । कुल उजुरीमध्ये प्रदेश–२ सँग सम्बन्धीत २३ दशमलव ८७ प्रतिशत उजुरी परेको छ । बागमती प्रदेशको उजुरी कुल संख्याको १९ दशमलव ५९ प्रतिशत छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version