चितवन: केपी शर्मा ओली पक्षले चितवनको नेकपा पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड–नेपाल पक्षका नेताहरूले आधा घण्टामै फोडेका छन्।

जिल्ला इन्चार्ज कृष्ण खनाल, अध्यक्ष यमबहादुर परियारसहित जिल्ला सचिवालयका पदाधिकारी गएर ताला लगाएको केही बेरमै फोडेको चितवन जिल्ला प्रचार विभाग प्रमुख रामचन्द्र अधिकारीले बताए।

‘औपचारिक रुपमा पार्टी विभाजन नभएको र निर्वाचन आयोगले चिन्ह र पार्टीको आधिकारिक नाम छुट्याइ नसकेको बेला यसरी पार्टी कार्यालयमा ताला लगाउनु अराजकताको पाराकष्ट हो’, अधिकारीले भने, ‘यस्तो अस्वस्थ व्यवहारले राम्रो गर्दैन।’

उनले पार्टी कार्यालय कब्जा गर्ने नियत नै गलत भएको बताए।

शनिबार बिहान चितवन पार्टी कार्यालयमा ओली पक्षका केही युवा नेताहरू गएर कार्यालयमा ताला लगाएका थिए।

१५५ सदस्यीय जिल्ला समिति रहेको चितवनमा अहिलेसम्म ओली पक्षमा तीन जना मात्रै खुलेर लागेका छन्। जिल्ला समितिमा रहेका पार्वती रावल, रामप्रसाद न्यौपाने, कमल पाठक तीन जना ओली पक्षमा देखिएका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version