जेनेभा: केही साता अघि बेलायतमा पहिचान भएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण युरोपका अन्य देशहरुमा पनि देखिन थालेको छ। युरोपेली संघ अन्तर्गतका आठ मुलुकमा नयाँ प्रकारको भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको हो।

डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको बताएका छन्। नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा उनले जोड दिए। बेलायतमा देखा पर्नेबित्तिकै उच्च सतर्कता अपनाइएको छ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको क्युगले बताएका छन्। नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए पनि उनले ती मुलुकहरूको नाम भने खुलाएका छैनन्।

सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरुलाई कडाइका साथ अबलम्बन गर्न पनि उनले आह्वान गरेका छन्। ‘डब्लुएचओले सबै अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ,’ निर्देशक क्लुगले ट्वीटरमा लेखेका छन्।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाइ छ। नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो। यो नै पहिलो पटक पुष्टि भएको हो। त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ। तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो। महामारी अहिले पनि न्युनीकरण भइसकेको छैन। हकिंस् विश्वविद्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म विश्वभरी सात करोड ९७ लाख १२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १७ लाख ४७ हजार ७९० भन्दा बढीको मृत्यु भएको छ।

सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ भने दोस्रो धेरै भारत र तेस्रो धेरै ब्राजिल प्रभावित भएको विश्वविद्यालयले जनाएको छ। एएनआई/एपी/रासस

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version