काठमाडौं : नेपाली कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्व असफल भएपछि नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानमाथि भएको असंवैधानिक कदमको टुलुटुलु हेरेर आफूहरु नबस्ने बताएका छन।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको झगडा व्यवस्थापन गर्न नसकेर संसद विघटन गर्ने असंवैधानिक कदम चालेको उनले बताए।
काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता सिंहले संसदमा विश्वासको मत लिन डराएका ओलीले चुनाव गराउन जनताकोमा जाने कुरा विश्वास नै गर्न नसक्ने बताए।
उनले राष्ट्र प्रमुखको गरिमा र सहि भूमिका निर्वाह नगरेको भनी राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उनले आलोचना गरेका थियो।
राष्ट्रपतिले अहिलेको शैली सच्याउनुपर्ने उनको जोड थियो।
‘ओलीले आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर पार्टीको रिस व्यवस्थापिका भंग गरेर फेरे,’ सिंहले भने, ‘प्रक्रियागत रुपमा, वैधानिक रुपमा संसदमा गएर विश्वास नलिई प्रतिनिधि सभा नै विघटन गर्ने काम गरेर उनले अवैधानिक कदम चाले।’
अवैधानिक रुपमा संसद भंग गर्ने ओली सरकारले निर्वाचनमा जाने कुरा गरेकोमा विश्वास गर्न नसकिने उनको धारणा थियो।
‘ओली सरकार अहिले बडो क्रान्तिकारी जस्तो गरेर जनताको म्यान्डेट लिन जाने कुरा गरिरहेको छ, संसदमा संविधानको धाराअनुसार विश्वासको मत लिन नसक्ने ओलीले जनताकोमा जाने कुरा कसरी विश्वास गर्न सकिन्छरु संविधानमाथि प्रहार गरिरहँदा कांग्रेस चुप बस्दैन, विधिसम्मत नगर्ने कुरामा कांग्रेसले कसैलाई पनि साथ दिदैँन’, सिंहले थपे।
कांग्रेसले ओली सरकारविरुद्ध बैशाखमै आन्दोलन गर्नुपर्ने कुरा उठाएको स्मरण गर्दै सिंहले ओली सरकारले भ्रष्टाचारमा पनि रेकर्ड राखेको बताए।
‘सपथ नलिइकन प्रधानमन्त्री बन्ने ओली कहिलेपनि विधि, ऐन र कानुन अनुसार चलेनन्, ललितानिवास जग्गा प्रकरण, ओम्नी काण्ड, वाइडबडी जहाज खरिद प्रकरण, सुन तस्करी काण्डमा यो सरकारले भ्रष्टाचारमा रेकर्ड राखेको छ’ सिंहले थपे।
आफ्नै पार्टीका नेताले भ्रष्टाचार गर्दा पनि ओली सरकारले छैन भनेर हिड्ने काम गरेको उनले बताए।
ओलीले न्यायपालिका, व्यवस्थापिकलाई आफ्नो अधिनमा राख्न खोजेको उनको भनाइ थियो।
उनले जनताले नेकपालाई दिएको म्यान्डेटको सो पार्टीले कसरी अपमान गर्यो भनी व्याख्या गरेका थिए।
