काठमाडौं: नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ ।

परिसंघका अध्यक्ष सतीशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरेका थिए। त्यसमा म्याद थपको माग आएको परिसंघले जनाएको छ।

वितग वर्षहरुमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समयसीमा भित्र नै गरिरहेको तर्फ औल्याउँदै आर्थिक वर्ष ०७६/७७ देखि नै कोभिडको कारणबाट उद्योग व्यवसायहरु प्रभावित भएकाले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको मोरको भनाइ छ।

कोभिडको कारण कतिपय उद्योग व्यवसायहरु अझै पनि पूर्ण क्षमतामा खुल्ने अवस्थामा छैनन्। अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको परिप्रेक्ष्यमा कतिपयले लेखापरीक्षणको काम पूरा गर्न भ्याएका छैनन्। यस्तो अवस्थालाई मध्यनजर गरी आगामी चैत मसान्तसम्म म्याद थप गरे उद्योगी व्यसायीलाई सहज हुने उनको धारणा छ।

कतिपय उद्योग एवं व्यवसायमा समयमै आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने परिस्थिति नहुँदा उद्योगी व्यवसायीले थप शुल्क तथा जरिवाना तिर्नुपर्ने भएकाले बेलैमा म्याद थप गरिदिएर समस्याको समाधान गर्न सरकारसँग माग गरेको छ।

कोभिडको प्रभावबाट प्रभावित व्यवसायीहरुले समय थपभएसँगै सहजरूपमा आयकर विवरण बुझाइ तथा कम्पनी अद्यावधिक गरी सरकारको राजस्व संकलनको लक्ष्यमा सघाउ पुर्याउन परिसंघ प्रतिवद्ध रहेको पनि मोरको भनाइ छ।

विद्यमान आयकर ऐनमा भएको व्यवस्थाअनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भएअनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म तोकिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version