काठमाडौँ: काभ्रे पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसमेत ३ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो।

अख्तियारले मंगलबार अध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारी र एचके अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बजार विकास निर्देशनालय हरिहर भवन, ललितपुरले पाँचखाल नगरपालिका-४ तामाघाटस्थित मसला बाली विकास केन्द्रको स्वामित्वमा रहेको करिब ७ रोपनी जमिनमा कृषि उपज बजार सञ्चालन गर्न उपलब्ध गराएको थियो।

त्यहाँ वर्षौदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरी परेको थियो।

उजुरीमाथि अनुसन्धान हुँदा अध्यक्ष श्रेष्ठले स्टलहरू निर्माण गर्दा लागेको खर्च र भाडाबापत प्राप्त आय विवरण पारदर्शी राखेका थिएनन्।

सञ्चालक समितिको निर्णयबाट खर्च गर्नु/गराउनुपर्नेमा त्यसो नगरिएको पाएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए।

उनले कोषाध्यक्ष दिनेश अधिकारीको मिलेमतोमा समितिको खातामा जम्मा भएको १४ लाख ३८ हजार ५ सय रुपैयाँ आफैंले झिकेका थिए।

उनले गरेको हिनामिनालाई एच.के.अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीले वैधता दिने गरी लेखापरीक्षण प्रतिवेदन दिएका थिए।

उनीहरूविरूद्ध बिगो रकम कायम गरी सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version