काठमाडौं: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसाले पाउनुपर्ने ८८ प्रतिशत रकम भुक्तानी भइसकेको दाबी गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रालयले उखु किसानहरुले कूल ६५ करोड ३१ लाख भुक्तानी गर्न बाँकी रहेकोमा तोकिएको अवधिभित्र ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी भइसकेको उल्लेख गरेको हो । यो ८७.७३ प्रतिशत बराबर हो ।
२१ दिनअघि मन्त्रालयको रोहबरमा उद्योगी र किसानबीच २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्ने सहमति भएको थियो । यो अवधिमा ५ उखु मिलले सो बराबरको भुक्तानी दिएको र बाँकी रहेको रकम चल अचल सम्पत्ति बिक्री गरेर छिटै भुक्तानी हुने मन्त्रालयले जनाएको छ ।
उद्योग मन्त्रालयको तथ्याँकअनुसार २१ दिन अघिसम्म श्रीराम सुगर मिलको ३५ करोड, अन्नपूर्ण चिनी उद्योगको १२ करोड, इन्दिरा सुगर मिलको ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलको ८ करोड ४१ लाख तथा महालक्ष्मी सुगर मिलको २० लाख बक्यौता बाँकी रहेकोमा श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
त्यस्तै, अन्नपूर्ण सुगर मिलले १० करोड ८८ लाख भुक्तानी गरेको र १ करो ७६ लाख खातामा जम्मा गरेको समेत गरी कूल १२ करोड ६४ लाख भुक्तानी गरेको मन्त्रालयले जनाएको छ । इन्दिरा सुगर मिलले भने १ करोड ५० लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । लुम्बिनी सुगर मिलको ८ करोड ४१ लाखमध्ये ५ करोड १६ लाख भुक्तानी भएको छ भने ३ करोड रुपैयाँ रोक्का गरिएको छ । महालक्ष्मी सुगर मिलले भने अहिलेसम्म कुनै रकम भुक्तानी गरेको छैन ।
