पूर्वजनमुक्ति सेनालाई आफूतिर तान्न बल गरिरहेका गृहमन्त्री रामबहादुर थापाले योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युँताएका छन्।

तत्कालीन माओवादीको युवा संगठन वाईसीएल र एमालेको युवा संघलाई पार्टी एकतापछि मिलाएर राष्ट्रिय युवा संघ नेपाल बनाइएको थियो।

तर, युवा संघमा आवद्ध केही पूर्ववाईसीएलका सदस्यलाई लिएर गृहमन्त्री थापाले वाईसीएल ब्युँताएका हुन्। जसको नेतृत्व थापाकै सचिवालमा रहेका वीरु तामाङले गरिरहेका छन्।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको राष्ट्रिय युवा संघको संयोजक अहिले रामप्रसाद सापकोटा छन्। उनी प्रचण्ड–नेपाल पक्षमा छन्।

तामाङले माघ ८ गते ९९ सदस्यीय केन्द्रीय समिति नै घोषणा गरी औपचारिक रुपमै वाईसीएल ब्युँताएका हुन्। तामाङका अनुसार वाईसीएलको ९९ सदस्यीय केन्द्रीय समितिले नौ सदस्यीय कार्यालय र सातै प्रदेशमा संयोजक समेत चयन गरेको छ।

कार्यालयमा गंगा कार्की, ज्ञानबहादुर ढुङ्गाना, सुमन लामा, कुमार हुमागाईं, पुष्पराज श्रेष्ठ, योगेन्द्र लामा, विष्णुप्रसाद घिमिरे, विष्णुराज बीसी र बलदेव राईलाई चयन गरिएको तामाङले बताए।

यस्तै, प्रदेश १ मा विजय डाँगी, प्रदेश २ मा विमल पौडेल, बागमती प्रदेशमा मानबहादुर तामाङ, गण्डकीमा नवीन गुरुङ, लुम्बिनीमा गोविन्द भुसाल, कर्णालीमा टेकबहादुर बोगटी र सुदूरपश्चिममा योगेश साउदलाई संयोजक तोकिएको छ। यसैगरी विशेष प्रदेश भनेर अरुणकुमार क्षेत्रीलाई संयोजक तोकिएको छ।

तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए।

‘बादललाई समर्थन गर्ने पूर्ववाईसीएलका साथीहरु मिलेर वाईसीएल नै बनाउने निर्णय गरेका हौं,’ कार्यालय टिमका एकले सदस्यले नेपालखबरसँग भने, ‘साविक वाईसीएललाई एक बनाउने प्रयासस्वरुप यो गरिएको हो।’

गृहमन्त्री थापाकै निर्देशनमा यो काम गरिएको उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version