काठमाडौँ: सत्तारुढ दल नेकपा विभाजनको असर शेयर बजारमा देखिएको छ । नेकपाबाट विभाजित प्रचण्ड-माधव समुहले बिहीबार आमहड्ताल गर्ने सूचना प्रवाहित भएपछि बुधबार सुरुवातदेखि नै ओरोलो लाग्न थालेको नेप्से ६.८१ अंकले घटेर बन्द भएको छ ।
दिउँसो २ बजे आमहड्ताल घोषणा गर्ने समय सार्वजनिक भएसँगै बुधबार सोही बेला नेप्से दिनभरिकै न्यूनतम बिन्दु २४५८ बिन्दुसम्म झरेकोमा बजार बन्द हुँदासम्म न्यूनतम बिन्दुभन्दा ८ अंकले बढेर बन्द भएको हो ।
प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर सरकारले काममा खटाएपछि नेकपाको दाहाल नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । सो समुहले पुर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आमहड्ताल र माघ २८ गते राजधानीमा बृहत प्रदर्शन गर्ने घोषणा गरेको छ ।
आज २०२ कम्पनीका २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९१ ह्जार ५५९ पटक खरीद बिक्री हुँदा ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँ बराबरको कराोबार भएको छ । यो रकम नेप्सेमा हालसम्म भएको दोस्रो ठूलो कारोबार हो । यसअघि माघ १५ गते बिहीबार एकैदिन ८ अर्ब ८९ करोड बढीको शेयर कारोबारमा आएको थियो ।
नेप्से उच्चतम अंकमा पुगेको बखत आन्दोलनको घोषणापछि नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा शेयर बजारमा बुधबार दोस्रो ठूलो कारोबार भएको हो ।
यसदिन जलविद्युत, बैंकिङ्ग, लघुवित्त र म्युचुअल फण्ड बाहेक बाँकी ८ वटा उपसमुहको सूचक ऋणात्मक बनेका छन् । ब्यापार २.२१ प्रतिशतले घटेको बजारमा होटल, वित्त, उत्पादन, जीवन बीमाको सूचक पनि १ प्रतिशतभन्दा धेरैले ऋणात्मक रह्यो ।
