काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्ष सो मुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो । समीक्षा वर्षको औसत मूल्यवृद्धि आर्थिक वर्ष २०६१÷६२ पछिको सबैभन्दा न्यून हो ।

नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिबेदन अनुसार आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।

२०७५ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो।

वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दवावमा रहन सक्ने जोखिमको संकेत गर्दछ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति हिमालमा ५.९ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ६.४ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको थियो ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर

२०७५ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.६ प्रतिशत र भारतमा ४.२ प्रतिशत रहेकोले यी दुई मुलुकहरुबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः २.७ प्रतिशत र २.४ प्रतिशत रही मुद्रास्फीति अन्तर ०.३ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा वार्षिक औसत थोक मुद्रास्फीति १.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा कृषिजन्य वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्कमा ०.३ प्रतिशतले ह्रास आएको छ भने स्वदेशमा उत्पादित वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क ५.३ प्रतिशतले र आयातीत वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क ४.१ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा वार्षिक औसत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ६.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष उक्त सूचकाङ्क १४.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा तलब सूचकाङ्कको वृद्धिदर ९.६ प्रतिशत रहेको छ भने ज्यालादर सूचकाङ्कको वृद्धिदर ५.३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष तलव सूचकाङ्क र ज्यालादर सूचकाङ्कको वार्षिक औसत वृद्धिदर क्रमशः १८.३ प्रतिशत र १३.४ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा ज्यालादर अन्तर्गत कृषि मजदुर, निर्माण मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्कको वार्षिक औसत वृद्धिदर क्रमशः ५.६ प्रतिशत, ५.२ प्रतिशत र ४.६ प्रतिशत रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version