काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख ७ गतेदेखि देशभर कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तयारी भएको छ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप नेपालले गत माघ १४ गतेबाट देशभर लगाउन सुरु गरेको हो।

सुरुमा चार हप्तापछि लगाइने बताएको मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुई खोपबीचको समय जति बढी भयो त्यति खोप प्रभावकारी हुने नयाँ तथ्य सार्वजनिक गरेसँगै १२ हप्तापछि दोस्रो डोज लगाउने तयारी गरेको हो।

‘बैशाख ७ देखि बैशाख १५ सम्म दोस्रो डोज खोप लगाउने मन्त्रालयको तयारी छ,’ मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने।

पहिलो डोज खोप लगाएको कार्ड बोकेर पायक पर्ने स्थानमा दोस्रो डोजको खोप लगाउन सकिने उनले बताए।

मन्त्रालयले गठन गरेको खोप समितिका संयोजक डा. श्यामराज उप्रेतीले पहिलो डोज र दोस्रो डोजबीच अन्तर लामो हुँदा बढी प्रभावकारी हुने डब्लूएचओको अध्ययनले देखाएपछि आफूहरुले मन्त्रालयमा त्यहीअनुरुप सुझाव दिएको बताए।

‘डब्लूएचओको नयाँ अध्ययनले ८ हप्ता पूरा भएर १२ हप्तासम्म दोस्रो डोज दिँदा बढी प्रभावकारी हुने देखाएको छ,’ उप्रेतीले भने, ‘हामीले त्यहीअनुरुप सिफारिस गरेका थियौं। सरकारले पनि त्यसैअनुसार दोस्रो डोज खोप लगाउने तयारी गरेको छ।’

उनले पहिलो डोज जुन खोप लगाएको हो, दोस्रो पटक पनि त्यही खोप लगाउनुपर्ने बताए। नेपालमा सेरमले उत्पादन गरेको कोभिसिल्ड खोपसँगै केही दिनमा चीनले उत्पादन गरेको सिनोभ्याक खोप पनि आउने घोषणा भइसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version