काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आरोपमा नायव सुब्बा र लेखनदासलाई पक्राउ गरेको छ ।

आयोगले मालपोत कार्यालय, सिमरा बाराका कार्यालय प्रमुख ना.सु. मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई पक्राउ गरेको हो ।

ना.सु मनोजले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भन्दै सर्जमिन मुचुल्का सिफारिस पठाएर फुकुवा गर्ने प्रक्रिया मिलाएर फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै घुस माग गरेका थिए ।

आयोगले अनुसन्धानका सिलसिलामा ना.सु. मनोजले सेवाग्राहीको जग्गा रजिष्ट्रेशन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग, नयाँबानेश्वर काठमाडौंमा रोक्का रहेको छ, त्यसका लागि खर्च गर्नु पर्छ भन्दै घुस रकम माग गरेको बताएको छ ।

ना.सु. मनोजले उक्त रकम लेखनदास बद्रीलाई लिन पठाएका थिए । लेखनदासले ना.सु. मनोजलाई उक्त रकम दिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको हो । उनीहरु विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version