काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १४ प्रतिशतले बढेको थियो ।

२०७४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १८.२ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २२.३ प्रतिशतले, विकास बैंकहरुको २५.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १६.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा ५०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १९.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २२.४ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा २६.३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६.७ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७६.५ प्रतिशतले बढी रु.११३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ११.२ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा हायर पर्चेज कर्जा १४.५ प्रतिशतले र ओभरड्राफ्ट कर्जा १४.४ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा वर्षमा रु.१ करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जा २०.२ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.० प्रतिशतले बढेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version