काठमाडौँ: नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । केन्द्रीय बैंकले हाल दैनिक १० किलोको आयात कोटालाई बढाएर २० किलो बनाएको हो ।

सुन व्यवसायीहरु बजारमा काँचो सुनको माग बढेको र सो अनुसारको आपुर्ति हुन नसकेको गुनासो गर्दै अर्थमन्त्रीसम्म पुगेका थिए । व्यसायीहरुले सरकार तथा सरकारी निकायहरुमा सुन आयात कोटा बढाउने माग राख्दै धाउन थालेपछि केन्द्रीय बैंकले कोटा बढाएको हो। केही दिन अघि मात्र पनि व्यवसायीहरुले सुन आयात कोटा बढाउन अनुरोध गर्दै केन्द्रीय बैंकसम्म पनि पुगेका थिए ।

“सुन व्यवसायीहरुले दैनिक ३० किलो सुनको माग गरेको भएपनि बजारको अस्थामा अनुसार २० किलोसम्म दैनिक आयात कोटा तोकिएको राष्ट्र बैंकले जनाएको छ,” बढ्दो आयात, रेमिट्यान्स आप्रवाहमा आगामी दिनमा हुन सक्ने गिरावट, व्यापार घाटा र ब्यालेन्स अफ पेमेन्टमा परेको चापलाई विचार गरेर सुन आयात कोटा बढाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको व्यवसायीहरु बताउँदै आएका थिए । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । तर, कोरोनाका कारण सुरु भएको लकडाउनपछि सुन आयत कोटा घटाइ १० किलो प्रतिदिनमा सिमित भएको थियो ।

सुनको आयात नै थोरै भएपछि नेपाली बजारमा सुनको अभाव बढ्न थालेको थियो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने जोखिम बढेपछि राष्ट्र बैंकले व्यवसायीको माग सम्बोधन गरेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version