काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट बर्खास्त भएका छन्।
आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा-सदस्य पद खारेज भएको हो।
माओवादी केन्द्रले दर्ता गराएको सूचनाअनुसार संघीय संसदले उनको सांसद पद खारेज भएको जानकारी गराएको हो।
योसँगै उनको मन्त्री पद पनि गएको छ तर सांसद नरहँदा पनि ६ महिनासम्म पुनः मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ। त्यसपछि भने उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित हुनुपर्ने हुन्छ। अन्यथा मन्त्री रहन पाइन्न।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेपछि तत्कालीन नेकपा दुई समूहमा विभाजन भएको थियो। त्यस क्रममा प्रचण्ड छाडेर गृहमन्त्री थापासहित माओवादीका २३ जना केन्द्रीय नेता ओली समूहमा सामेल भएका थिए। संसद् पुनःस्थापनाको फैसलापछि सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपाको एकता अवैधानिक भएको ठहर गर्दै यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै अलग–अलग दलका रूपमा कायम रहेको फैसला गर्यो।
