काठमाडौँ: कोरोनाको जोखिम बढेसँगै नेपाल उद्योग वाणिज्य महासंघले संकटका बेला अनावश्यक सञ्चिति र मूल्यवृद्धि नगरी सर्वसाधारणलाई सेवा प्रदान गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ । आवश्यक सामग्रीको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायी निरन्तर क्रियाशील रहेको जनाउँदै महासंघले आमउपभोक्तालाई पनि अनावश्यक खाद्यान्न सञ्चय नगर्न भनेको छ ।

निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई राहतको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ । रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनामा संलग्न गराई कामसँगै राहत उपलब्ध गराउन सकिने महासंघको धारणा छ ।

महासंघले मंगलवार जारी गरेको अपिलमा सरकार, निजी क्षेत्रसहित सवैको अहिलेको प्रमुख दायित्व संक्रमणलाई फैलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनु रहेको उल्लेख छ । ‘जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले चालेका सबै प्रयासमा सदाझै सहयोग गर्ने निजी क्षेत्रको प्रतिबद्धता छ,’ अपिलमा भनिएको छ, ‘निषेधाज्ञाका समयमा आमजनताको दैनिक जीवनयापन सहज बनाउन, दैनिक आवश्यकता पूरा गर्न, अत्यावश्यक खाद्यान्नलगायत स्वास्थ्य सामग्रीको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारसँगै छ ।’

उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपाय अलवम्बन गरी निषेधाज्ञाको समयमा पनि रोजगारी नगुम्ने र आर्थिक गतिविधि सञ्चालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको अपिलमा उल्लेख छ । संक्रमण तीव्र रूपमा बढेसँगै सरकारबाट आमजनताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको भन्दै कोरोनाको दोस्रो लहरले निम्त्याएको यस असहज परिस्थितिप्रति निजी क्षेत्र अत्यन्त चिन्तित र संवेदनशील रहेको अपिलमा भनिएको छ ।

‘कोराना महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्रमा पुर्‍याएको क्षति सर्वविदितै छ,’ अपिलमा भनिएको छ, ‘गत आर्थिक वर्षमा १.९९ र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रह्यो ।’ यस्तो अवस्थामा आर्थिक महत्त्व बोकेका ठूला परियोजनाको निरन्तर सञ्चालनको सुनिश्चितता, उद्योग कलकारखानाको सञ्चालन आवश्यक रहेको महासंघले जनाएको छ । उत्पादित सामानको सहज आपूर्ति, ढुवानी, बिक्रीवितरण, कच्चा पदार्थको आयातमा सहजतासहित उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक कर्मचारीको आवतजावतलाई सहज बनाउन महासंघले अनुरोध गरेको छ ।

लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत वर्ष घोषित राहतको निरन्तरतासँगै नयाँ लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न महासंघले भनेको छ । फ्रन्टलाइनमा बसेर सेवा र वस्तु उपलब्ध गराउने व्यवसायीलाई प्राथमिकतामा राखी खोप उपलब्ध गराउन पनि आग्रह गरिएको छ । सरकार निजी क्षेत्र र आमजनता एकजुट भए जोखिम कम गरी फेरि छिट्टै सहज अवस्थामा आफ्ना दैनिक काम गर्न सकिने महासंघको विश्वास छ ।

‘संक्रमण फैलिन नदिन र बिरामीको उपचारका लागि अस्थायी आइसोलेसन, क्वारेन्टाइन र अस्पतालको समेत आवश्यकता पर्ने देखिएको छ,’ अपिलमा भनिएको छ, ‘यसमा केन्द्र र प्रदेशसँगै स्थानीय तह उत्तिकै संवेदनशील भई संक्रमण फैलिन नदिन अनि उपचार सेवा उपलब्ध गराउन तत्पर रहनुपर्ने देखिन्छ ।’ संकटका बेला महासंघ सरकार एवं आमउपभोक्ताको साथमा रहेको प्रतिबद्धता जनाउँदै आवश्यक सहकार्यका लागि सदा तत्पर रहेको पनि जनाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version