काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा फेल गराउन पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने बताएको छ ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि २७ गते संसदको बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ ।’

ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरुमा पनि अल्पमतमा पुगेपछि पनि जबरजस्ती सरकार बनाएको कांग्रेसको आरोप छ । सहमहामन्त्री डा. महतले भने, ‘केन्द्रकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप भएको छ, यसको हामीले भर्त्सना पनि गरेका छौं ।’

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि ल्याएकोमा समेत आपत्ति जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version