विराटनगर: थोक विक्रेताले मूल्य बढाएपछि विराटनगरका बजारमा सर्जिकल मास्क र पल्स अक्सिमिटर अभाव भएको छ । संक्रमणको दोस्रो लहरअघिसम्म थोक विक्रेताले प्रतिपोका १ सय १० रुपैयाँमा बिक्री गरेको मास्कको मूल्य ३ सय रुपैयाँसम्म लिन थालेका छन् ।

शरीरमा अक्सिजनको मात्रा नाप्ने पल्स अक्सिमिटरको थोक मूल्य गत चैत २५ अघिसम्म ६/७ सय रुपैयाँसम्ममा बिक्री भए पनि अहिले १ हजार १ सय रुपैयाँ पुर्‍याइएको छ । खुद्रा बजारमा प्रतिपोका मास्कको मूल्य ३ सय ५० देखि ४ सय रुपैयाँ र अक्सिमिटर १ हजार ७ सयदेखि २ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुँदै छ । उत्पादकले खुद्रा बजारमा ५० पिसको प्रतिपोका र स्वास्थ्य संस्थामा सय पिसको पोका बनाएर मास्क बिक्री गर्छन् । ‘डिलरले बढी मूल्यमा किन्नेलाई माल दिन्छ, मैले राख्न छाडें,’ खुद्रा औषधि व्यवसायी अरुण ठाकुरले भने ।

पाँच/छ दिनदेखि यी सामग्रीको मूल्यमा अचाक्ली वृद्धि भएको उनले बताए । साताअगाडि खुद्रा बजारमा प्रतिपोका मास्कको मूल्य १ सय ५० रुपैयाँदेखि १ सय ८० रुपैयाँ रहेको उनको भनाइ छ । ‘थोक विक्रेताले सर्जिकल मास्कको हामीलाई नै ६ रुपैयाँ गोटा भन्न थाले, बेच्ने कतिमा ?,’ अर्का एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ग्राहकले डिलरलाई चिनेका हुँदैनन्, हामीले नै कालोबजारी गरेको ठान्छन्, झगडा गर्छन्, गाली गर्छन् ।’

जानकारहरूका अनुसार नेपाली बजारमा २ हजार ५ सय रुपैयाँमा समेत राम्रा खाले अक्सिमिटर पाइन्न । ‘गुणस्तरीय भनेर बेचिए पनि बजारमा उपलब्ध प्रायः अक्सिमिटर कामै नलाग्ने ६/७ सय रुपैयाँ पर्ने चिनियाँ उत्पादन हुन्,’ एक जानकारले भने, ‘बजारमा अनुगमन गर्ने निकायको कतै उपस्थिति देखिन्न ।’ राम्रो अक्सिमिटरमा दुई–तीन सय रुपैयाँभन्दा बढी मूल्यवृद्धि भएको छैन । यस्तो अक्सिमिटर बजारमा उपलब्ध पनि छैन । मास्कको डोरी अभाव भएर उत्पादनमा समस्या आएको थोक औषधि व्यवसायी संघ प्रदेश १ का अध्यक्ष विपुल दासले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version