काठमाडौं । चिनियाँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया मेसिन उपलब्ध गराउँदै छ । यी स्वास्थ्य सामग्रीहरु एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने मुख्य सचिव नेतृत्वको कोभिड–१९ सहजीकरण समितिले जनाएको छ ।

समितिका अनुसार चिनियाँ अनुदानको स्वास्थ्य सामग्रीहरुमध्ये ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर भने हवाई मार्ग हुँदै नेपाल ल्याइने छ । ती सामग्री लिन नेपाल वायु सेवाको वाइडबडी जहाज यही फागुन २७ गते बेइजिङ क्यापिटल एयरपोर्ट प्रस्थान गर्ने छ । सो जहाज भोलिपल्ट विहान २ः३५ बजे नेपाल आइपुग्ने छ ।

त्यसलगत्तै थप स्वास्थ्य सामग्रीहरु एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने समितिको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही घोषणा अनुसार पहिलो खेपमा चार सय थान अक्सिजन सिलिण्डर नेपाल ल्याउन लागिएको हो ।

कोरोना संक्रमणको दोस्रो लहरको महामारी नियन्त्रणमा लिन कठिन भइरहेको बेला सरकारले विभिन्न देशहरुको सहयोग प्राप्त गर्न पहल जारी राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गरेको केही दिनपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने कोरोनाविरुद्धको खोप उपलब्ध सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version