काठमाडौँ : निषेधाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । ‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

यो निर्णयसँगै अब नेपालमा बिदामा आएका विद्यार्थी तथा विभिन्न मुलुकमा काम गर्ने कामदारलगायत नेपाली राहदानी भएकाले चार्टर उडानमा विदेश जान बाटो खुला गरिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले कान्तिपुरसँग बताए ।

उनले दूतावासको अनुरोधमा अब हुन लागेका चार वटा उडानबाट पनि विभिन्न मुलुक जान चाहने नेपालीले टिकट खरिद गर्न सक्ने बताए ।‘छुट्टी मनाउन नेपाल आएर रोकिएका नेपालीलाई पनि सजिलो पार्न खोजिएको हो,’ बुधबार साँझ सहसचिव लामिछानेले कान्तिपुरसँग भने । त्यसैगरी मन्त्रालयले जेठ १८ गतेदेखि पूर्वमा चीन, मलेसिया र पश्चिममा दोहा नियमित उडान सुचारु गर्ने तयारी गरेको उनले बताए ।

मन्त्रालयले अहिले जारी निषेधाज्ञामा नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई साउदी अरबको दमाम र रियादमा काठमाडौंमा रोकिएका भारतीय नागरिकलाई मात्रै लैजान पाउने सर्तमा चार्टर उडानको अनुमति दिएको छ । त्यस्तै टर्कीको टर्किस र कतारको कतार एयरवेजलाई तेस्रो मुलुकका विदेशी तथा कूटनीतिक नियोगका कर्मचारीका लागि चारवटा उडानको अनुमति दिएको छ । हाल नेपालमा करिब १४ सय विदेशी रहेको अनुमान छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version