काठमाडौँ: नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिलकेशरी शाह नियुक्त भएका छन्।
नबिल बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उनलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
शाह फागुन ४ देखि कामु सिइओ रहँदै आएका थिए। २०७४ माघ १८ मा नबिलले डेपुटी सिइओको रुपमा उनलाई नबिलमा ल्याइएको थियो ।
नबिलले यसअघि शाहलाई सिइओमा नियुक्त गरेकाे भए पनि नेपाल राष्ट्र बैंकको नियमका कारण रोकिएको थियो। वाणिज्य बैंकका सिइओहरुले एउटा बैंक छोडेर अर्को बैंक सिइओको रुपमा काम गर्न जाँदा ६ महिनाको कुलिङ पिरियड पार गर्नुपर्ने नियम छ।
सोहि कारण पूर्ण सिइओ नपाएका शाहलाई डेपुटी सिइओको भूमिकामा बैंकले भित्र्याएको थियो।
स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ्ग करिअर सुरू गरेका शाहसँग सो बैंकमा १३ वर्ष एवं नबिल बैंकमा सिइओको रुपमा ५ वर्ष काम गरेको अनुभव छ। मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल ८ वर्ष पूरा गरी त्यहाँबाट विदा भएका थिए। राष्ट्र बैंकको नियमअनुसार सिइओले एउटै बैंकमा दुई कार्यकालभन्दा बढी काम गर्न पाउँदैनन्।
भारतको दिल्ली विश्व विद्यालयबाट एमबिए गरेका शाहले विश्व प्रसिद्ध अमेरिकाको हाभर्ड विश्व विद्यालयबाट ‘२१ औं शताब्दीका लागि नेतृत्व’ विषयको अध्ययन पूरा गरेका छन्।
